भीमफेदी–१ की वडा सदस्य थिङद्वारा कांग्रेस परित्याग, भनिन्– ‘आत्मसम्मान बन्धकी राख्न सकिनँ’

राम कुमार दानी
५ आश्विन २०८३, २०:५८

हेटौंडा / नेपाली कांग्रेस मकवानपुरकी नेतृ, भीमफेदी गाउँपालिका–१ की वडा सदस्य एवं जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सुमित्रा थिङले नेपाली कांग्रेसको राजनीतिबाट अलग भएको घोषणा गरेकी छन्।

थिङले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै आफूले नेपाली कांग्रेसको राजनीति परित्याग गर्न बाध्य भएको जानकारी दिएकी हुन्।

उनका अनुसार आफूले क्रियाशील सदस्यको सूचीमा आफ्नो नाम देखे पनि रातारात अर्को सूची निकालेर नाम हटाइएको र त्यसकै कारण क्षेत्रीय प्रतिनिधिको पदसमेत रद्द हुने खबर पाएपछि आफूलाई पार्टीभित्र बसिरहन नैतिक रूपमा कठिन भएको बताएकी छन्।

थिङले आफ्नो फेसबुक स्टाटसमा पार्टीभित्र षड्यन्त्र भएको आरोप लगाउँदै आत्मसम्मान बन्धकी राखेर बस्न नसक्ने उल्लेख गरेकी छन्। उनले आफू कसैको दबाब वा प्रभावमा कांग्रेसमा प्रवेश नगरेको र पार्टीको सिद्धान्त मन परेर स्वतः राजनीतिमा आएको दाबी गरेकी छन्।

उनले विगतमा पार्टीले दिएको वडा सदस्यको टिकट सम्मानपूर्वक स्वीकार गरी आफ्नो वडामा पार्टीलाई जिताउन अहम भूमिका खेलेको तथा दोस्रो पटक पनि पार्टीकै आग्रहमा उम्मेदवारी दिएर निर्वाचित भएको उल्लेख गरेकी छन्।

आफ्नो राजनीतिक यात्राका क्रममा व्यक्तिगत रूपमा मानसिक चोटसमेत व्यहोर्नुपरेको उल्लेख गर्दै थिङले सम्बन्धित पक्षलाई आफूलाई थप बोल्न बाध्य नबनाउन आग्रह गरेकी छन्। साथै, आफ्नो संयमतालाई कमजोरी नठान्न चेतावनीसमेत दिएकी छन्।

‘राजनीतिको नाममा पाएका साथ र पाठ दुवै जीवनका अमूल्य सिकाइ र अनुभव हुन्’ भन्ने भाव व्यक्त गर्दै उनले पार्टीभित्रको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएकी छन्।

अन्त्यमा उनले आफूलाई आजसम्म सच्चा मनले साथ दिने सबैप्रति आभार व्यक्त गर्दै नेपाली कांग्रेसको राजनीतिलाई यहीँबाट बिट मार्न बाध्य भएको घोषणा गरेकी छन्।
https://www.facebook.com/share/p/1SXQ7Q2jMm/

प्रतिक्रिया