कांग्रेस हेटौंडा–१९ को सभापतिमा सुरज बर्तौला सर्वसम्मत, कार्यसमितिमा सबै ३५ वर्ष मुनिका
हेटौंडा / नेपाली कांग्रेस हेटौंडा–१९ नम्बर वडा कार्यसमितिमा युवा पुस्तालाई नेतृत्वमा अगाडि सारिएको छ। वडा अधिवेशनबाट ३५ वर्षभन्दा कम उमेरका युवालाई मात्रै समेटेर नयाँ कार्यसमिति गठन गरिएको हो।
नयाँ कार्यसमितिको सभापतिमा सुरज बर्तौला चयन भएका छन्। बर्तौलाको नेतृत्वमा गठन भएको वडा कार्यसमितिमा सबै सदस्य ३५ वर्षमुनिका छन्।
युवा पुस्तालाई पार्टी संगठनको नेतृत्वमा ल्याउने उद्देश्यसहित वडा कार्यसमिति निर्माण गरिएको कांग्रेस हेटौंडा–१९ ले जनाएको छ। बर्तौला सामाजिक तथा युवा अभियानमा समेत सक्रिय छन्। उनी बस्तीपुर जेसीज मनहरी–२०२६ का अध्यक्षसमेत हुन्।
कांग्रेसको वडा नेतृत्वमै युवालाई प्राथमिकता दिइएपछि हेटौंडा–१९ को नयाँ कार्यसमितिलाई पार्टीभित्र युवा पुस्ताको नेतृत्व विकासको अभ्यासका रूपमा हेरिएको छ। नयाँ कार्यसमितिले संगठन विस्तारसँगै युवालाई पार्टीसँग जोड्ने र स्थानीय तहका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।


