नेकपा एमाले बागमतीको लेखापरीक्षण ‘आम्दानीमा पारदर्शिता, खर्चमा मितव्ययिता छ’

पालिका डायरी
५ आश्विन २०८३, १२:३८

नेकपा एमाले केन्द्रीय लेखा आयोगको तर्फबाट बागमती प्रदेश कमिटीको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम लेखापरीक्षण सम्पन्न भएको छ। प्रदेश लेखा कमिटीले आन्तरिक लेखापरीक्षण सम्पन्न गरिसकेपछि आज केन्द्रीय लेखा आयोगको तर्फबाट अन्तिम लेखापरीक्षण गरिएको हो।

अन्तिम लेखापरीक्षणपछि आयोगका केन्द्रीय अध्यक्ष कमरेड पुष्प कँडेलले प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललाई अन्तिम लेखापरीक्षण प्रतिवेदन पार्टीको प्रदेश कार्यालय, च्यासलमा हस्तान्तरण गर्नुभएको प्रदेश कमिटीका उपसचिव तथा वित्त व्यवस्थापन प्रमुख रमेश आचार्यले बताउनुभयो।

लेखापरीक्षणमा केन्द्रीय लेखा आयोगका सदस्यहरू कमरेड शान्ति पाख्रिन, कमरेड नवीन सिग्देल र कमरेड हरिकुमार श्रेष्ठ संलग्न रहनुभएको थियो।

लेखापरीक्षणका क्रममा लेखा व्यवस्थापन प्रणाली, व्यवस्थित आम्दानी–खर्चको अभिलेखसहितका कागजात, आम्दानीमा पारदर्शिता र खर्चमा मितव्ययिता अत्यन्त सबल पक्षका रूपमा पाइएको आयोगका सदस्य नवीन सिग्देलले बताउनुभयो।

जिल्ला तथा पालिका कमिटीहरूको समेत केन्द्रीय लेखा आयोगको तर्फबाट लेखापरीक्षण कार्य अगाडि बढाइने सिग्देलले जानकारी दिनुभयो।

पार्टी जीवनमा आर्थिक अनुशासन, पारदर्शिता र प्रणालीलाई स्थापित गर्न लेखापरीक्षण महत्वपूर्ण रहेको केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिनले बताउनुभयो। उहाँले मंसिर महिनाभित्र बागमती प्रदेश कमिटीअन्तर्गतका १० वटा जिल्ला, महानगरपालिका तथा उपमहानगरपालिकाको लेखापरीक्षण सम्पन्न गरिसक्ने जानकारी दिनुभयो।

प्रतिक्रिया