चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
चितवनको खैरहनी नगरपालिका-१, तरकारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएके छ ।
शनिबार दिउँसो नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-०१५ प ३३८५ नम्बरको मोटरसाइकल तरकारी चोकमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक करिब ३० वर्षीय युवक र पछाडि सवार करिब २५ वर्षीया युवती गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज भर्ना गरिएको थियो । दुवै जनाको उपचारका क्रममा शनिबार अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । मृतकको परिचय खुलेको छैन ।
बस चालक सर्लाहीको हरिवन नगरपालिका-८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


