चुनावपछि ओली पहिलोपटक झापा जाँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा जाँदैछन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको चुनावपछि उनी पहिलोपटक झापा झर्न लागेका हुन्।
प्रतिनिधि सभामा झापा-५ बाट उम्मेदवार रहेका ओली चुनाव प्रचारप्रसारमा निर्वाचन क्षेत्रमा लामै समय बसेका थिए। तर, उनको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिकामा रहेकाले मत खसाल्न फागुन १८ गते काठमाडौँ आए।
चुनावमा उनी रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) सँग ५० हजार मतान्तरले पराजित भएका थिए। शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि ओलीलाई पक्राउ गर्न सोही दिन प्रहरी उनको गुण्डु निवासमा रातभर खटिएको थियो। चैत १४ गते बिहानै प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।
‘अध्यक्षज्यू भोलि बिहान पहिलो फ्लाइटबाट झापा जाने कार्यक्रम छ,’ उनको सचिवालय प्रमुख निरुदेवी पालले नेपालखबरसँग भनिन्, ‘उहाँ चुनाव पछि पहिलो पटक गृहजिल्ला पुग्दै हुनुहुन्छ।’

