मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

पालिका डायरी
११ श्रावण २०८३, १०:३४
मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’ यात्राका लागि डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच मध्यरातमा झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।

आइतबार राति भएको उक्त झडपमा परी प्रदर्शनकारी र सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला र ध्वनि प्रदूषण भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।

विवाद बढ्दै जाँदा दुवै समूहबीच भिडन्तको स्थिति सिर्जना भएको थियो। उत्तेजित भीडले कप्तानगन्ज बजार क्षेत्रका सर्वसाधारणका घर, मेडिकल, सवारीसाधन तथा अन्य सार्वजनिक र निजी संरचनामा व्यापक तोडफोडका साथै आगजनी गर्न थालेपछि अवस्था थप तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो । तर, हवाई फायर गर्दा पनि भीड नियन्त्रणमा नआई तोडफोड र आगजनी नरोकिएपछि बाध्य भएर गोली चलाउनु परेको स्थानीय प्रशासन तथा प्रहरीको भनाइ छ ।

घटनापछि कप्तानगन्ज र आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया