सर्लाहीमा सिँचाइ डिभिजन कार्यालय प्रमुख साढे ७ लाख ‘घुस’सहित क्वाटरबाटै पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको बागमती नगरपालिका-१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल तुलाकान्त चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
अख्तियार प्रवक्ता सुरेश न्यौपानले आज विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार डिभिजन कार्यालयस्थित कार्यालय प्रमुखको क्वाटरबाट नगदसहित उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।
बोरिङ र मोटर जडान सम्पन्न भएपछि रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग उनीहरूले ७ लाख ५० हजार रुपैयाँ घुस लिएको दाबी अख्तियारले गरेको छ । उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई सेवाग्राहीबाट लिएको रकमसहित पक्राउ गरिएको दाबी अख्तियार प्रवक्ता न्यौपानेले गरेका छन् ।
साथै उनीहरूको साथबाट स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ र तीनवटा मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ।

