ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
File Photo
पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड मंगलबार बिहानबाट पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कान्तिलोकपथ काठमाडौँ-हेटौँडा आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो । यो सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन् ।
त्यसैगरी बाढीपहिरोले आज इलाममा मेची राजमार्ग, भोजपुरमा मध्यपहाडी राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग पनि अवरुद्ध भएका छन् ।
कतिपय राजमार्गमा पहिरो खस्दा एकतर्फी भएका छन् । प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाएको छ । यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।


