बागमती सरकारबाट एमाले बाहिरिने, आजै ६ मन्त्रीले राजीनामा दिदैँ
बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले मंगलबार (आज) मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन् ।
सोमबार (हिजो) काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो । तर आज केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागिएको स्वास्थ्य मन्त्री किरण थापाले बताए । उनका अनुसा आजै एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउनेछन्। साथै, प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने उनले बताए ।
‘अबको केहीबेरमा राजीनामा दिदैछौँ, मन्त्री थापाले भने, ‘मुख्यमन्त्री ज्युलाई भेटेर राजीनामा दिने की ? इमेलमार्फत पठाउने भन्ने विषयको तयारी संसदीय दलका नेता ज्यु ले गरिरहनु भएको छ ।’
बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ जना मन्त्री सहभागी छन्। नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले साउन १ गतेदेखि १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गरेको थियो । मन्त्रालय पुनर्संरचनापछि कार्यविभाजन फेरबदल गरिए पनि सत्ता गठबन्धन भने लामो समय टिक्न सकेन ।
बानियाँ नेतृत्वको सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ सहभागी छन् । उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिने तयारी गरेका हुन् । यस सँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आउने भएको छ ।

