नगर प्रमुख लामाद्वारा निजी अस्पतालको निरीक्षण, गुणस्तरीय सेवामा जोड
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो स्वीकृतिमा सञ्चालनमा रहेका निजी अस्पतालहरूको अनुगमन अभियान सुरु गरेको छ। स्वास्थ्य संस्थाले तोकिएका मापदण्डअनुसार सेवा प्रवाह गरिरहेका छन् वा छैनन् भन्ने मूल्याङ्कन गर्न नगर प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा मंगलबार (आज) तीन वटा अस्पतालको निरीक्षण गरिएको हो।
अनुगमन टोलीले हेटौँडा–६ स्थित सिद्धस्थली कम्युनिटी अस्पताल, हेटौँडा–२ को निको अस्पताल र हेटौँडा–१ को हेटौँडा सिटी अस्पतालको निरीक्षण गरी अस्पताल व्यवस्थापनसँग छलफल गरेको छ। अनुगमन विशेषगरी प्रयोगशाला ९ल्याब० सेवाको सञ्चालन, सेवा गुणस्तर, पूर्वाधार तथा स्वास्थ्य मापदण्डको पालनामाथि केन्द्रित थियो।

अनुगमनका क्रममा केही दिनदेखि सेवा बन्द रहेको जानकारी आएको सिद्धस्थली कम्युनिटी अस्पतालबारे विशेष रूपमा जानकारी लिइएको थियो। समुदायको समेत लगानीमा स्थापना भएको उक्त अस्पताल पूर्वाधार र स्वास्थ्य उपकरणका दृष्टिले व्यवस्थित रहेको पाइएको नगर प्रमुख लामाले बताइन्।
उनले बजार क्षेत्रबाट केही टाढा रहे पनि सिद्धस्थली कम्युनिटी अस्पताल स्थानीय नागरिकका लागि महत्त्वपूर्ण स्वास्थ्य संस्था भएकाले नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न उपमहानगरपालिकाले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
सिद्धस्थली कम्युनिटी अस्पतालबाट ओपीडी, आकस्मिक सेवा, सामान्य चिकित्सा, स्त्री तथा प्रसूति सेवा, बालरोग सेवा, प्रयोगशाला, एक्स–रे तथा अल्ट्रासाउन्ड लगायतका सेवा सञ्चालन हुँदै आएका छन्। पछिल्लो समय सेवा बन्द भएको विषयमा अस्पताल व्यवस्थापनसँग कारण र पुनः सञ्चालनको योजनाबारे समेत छलफल गरिएको उपमहानगरपालिकाले जनाएको छ।

नगर प्रमुख लामाले स्वास्थ्य सेवा नागरिकसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले उपमहानगरबाट स्वीकृति लिएर सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थाले कानुनी मापदण्ड र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने बताइन्। आवश्यक परे आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने उनको भनाइ छ । अनुगमनमा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, कानुन अधिकृत लक्ष्मण मैनालीलगायतको सहभागिता रहेको थियो।

