दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङ संरक्षण समितिलाई हस्तान्तरण
हेटौंडा / दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।
हेटौंडा उपमहानगरपालिकाले समितिसँग सम्झौता गर्दै सुरुङको संरक्षण, व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेको हो। हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गर्नुभएको छ।
ऐतिहासिक महत्व बोकेको उक्त सुरुङ तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको शासनकालमा वि.सं. १९७२ (सन् १९१५) मा निर्माण सुरु भई वि.सं. १९७४ (सन् १९१७) मा सम्पन्न भएको मानिन्छ। करिब दुई वर्ष लगाएर निर्माण गरिएको सुरुङको लम्बाइ ५०० मिटर, चौडाइ करिब ४.५ मिटर र उचाइ करिब ६ मिटर रहेको छ।
सुरुङको निर्माण तत्कालीन प्राविधिक नेतृत्वमा रहेका इन्जिनियर ब्रिगेडियर जनरल स्वर्गीय डिल्लीजंग थापाको डिजाइनमा गरिएको थियो। यस सुरुङलाई नेपाल मात्र नभई दक्षिण एसियाकै प्रारम्भिक सुरुङ पूर्वाधारमध्ये एक मानिन्छ।
लामो समयसम्म बन्द अवस्थामा रहेको सुरुङको बागमती प्रदेश सरकारले मर्मत तथा पुनःसंरक्षण गरेपछि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। अब उपमहानगरपालिकाले स्थानीय समिति मार्फत सुरुङको संरक्षण, व्यवस्थापन र पर्यटन प्रवर्द्धनका गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ।

