बागमती प्रदेशमा विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो
हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने निर्णयसँगै ६ जना विनाविभागीय मन्त्रीलाई विभिन्न विषयगत मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
मुख्यमन्त्री बानियाँले मन्त्री विनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी विषय हेर्ने जिम्मेवारी दिएका छन्।
त्यस्तै, मन्त्री जयराम थापालाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तर्गत श्रम, रोजगार तथा यातायात विषय हेर्ने जिम्मेवारी दिइएको छ।
मन्त्री सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तर्गत संस्कृति तथा पर्यटन विषय, मन्त्री किरण थापा मगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य विषय, मन्त्री उर्मिला नेपाललाई सोही मन्त्रालय अन्तर्गत युवा तथा खेलकुद विषय तथा मन्त्री भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा वातावरण विषय हेर्ने जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाइएको बताएका छन्। मन्त्रालय पुनर्संरचनापछि सम्बन्धित विषयगत कार्यसम्पादनमा निरन्तरता कायम राख्न मन्त्रीहरूलाई अतिरिक्त विषयगत जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार, ओएनएम सम्पन्न भएपछि मन्त्री र मन्त्रालयको संख्या ८ मा कायम रहनेछ।
यसअघि आज बिहान ७ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको थियो।

