सनसाइन स्कुलद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

राम कुमार दानी
३१ जेष्ठ २०८३, २०:११

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका–३, बसामाडीस्थित सनसाइन इङ्लिस बोर्डिङ स्कुलले कक्षा ११ मा अध्ययन प्रारम्भ गरेका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका प्रधानध्यापक राजकुमार नहर्कीको सभाध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड, हेटौँडा कार्यालयका प्रमुख बद्री पाठकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा होटल म्यानेजमेन्ट र व्यवस्थापन सङ्कायमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पाठक तथा प्रधानध्यापक नहर्कीले नवप्रवेशी विद्यार्थीहरूलाई खादा लगाएर स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा राष्ट्रिय परीक्षा बोर्ड, हेटौँडाका कार्यालय प्रमुख पाठकले विद्यालयमा स्थापना गरिएको होटल म्यानेजमेन्ट  कक्षाको रिबन काटेर उद्घाटनसमेत गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै रामप्रसाद नहर्कीले विद्यार्थी, अभिभावक तथा अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नहर्कीले विद्यालयमा कक्षा ११ को अध्ययन–अध्यापन औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिँदै होटल म्यानेजमेन्ट तथा व्यवस्थापन सङ्कायमा गुणस्तरीय शिक्षा प्रदान गरिने बताए। उनले आधुनिक तथा सुविधासम्पन्न विद्यालय भवन, व्यवस्थित कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय तथा यातायात सुविधाले विद्यार्थीलाई उत्कृष्ट शैक्षिक वातावरण उपलब्ध गराएको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि बद्री पाठकले विद्यार्थीहरूलाई अध्ययनप्रति गम्भीर बन्न आग्रह गर्दै मेहनत, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताले मात्रै सफलता हासिल गर्न सकिने बताए। उनले आफ्नो विद्यार्थी जीवन सम्झँदै भने, “हाम्रो समयमा शैक्षिक पूर्वाधार र अवसरको अभाव थियो। तर आज आफ्नै घर नजिक यति सुविधासम्पन्न विद्यालयमा अध्ययन गर्ने अवसर पाउनु ठूलो कुरा हो। विद्यार्थीहरूले पढाइमा पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ, त्यसैबाट उत्कृष्ट नतिजा र भविष्यका अवसरहरू सिर्जना हुन्छन्।”

उनले वर्तमान पुस्ताले उपलब्ध स्रोत र सुविधाको अधिकतम उपयोग गर्दै प्रतिस्पर्धी र सक्षम नागरिक बन्नुपर्नेमा जोड दिए।

विद्यालयका अनुसार कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालयको वातावरण, शैक्षिक प्रणाली तथा आगामी अध्ययन यात्राबारे जानकारी गराउनुका साथै उनीहरूमा आत्मविश्वास र उत्साह थप्ने काम गरेको छ। सनसाइन इङ्लिस बोर्डिङ स्कुलले पछिल्लो समय माध्यमिक तहमा गुणस्तरीय शिक्षासँगै व्यावसायिक तथा व्यवहारिक शिक्षामा समेत जोड दिँदै आएको छ।

प्रतिक्रिया