४ नं. वडा कार्यालयद्वारा २० जना अति विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने
हेटौँडा / हेटौँडा–४ नं. वडा कार्यालयद्वारा विद्यालयहरूसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने भएको छ। ४ नं. वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि, हेटौँडा–४ बीच शैक्षिक वर्ष २०८३ देखि निरन्तर लागू हुने गरी यस्तो सम्झौता/प्रतिबद्धता भएको हो।
सम्झौता/प्रतिबद्धता पत्रमा वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी मावि, हेटौँडा–४ का तर्फबाट प्रअ सूर्यप्रसाद घिमिरे तथा आधुनिक राष्ट्रिय मावि, हेटौँडा–४ का तर्फबाट प्रअ रामसागर गुरागाईंले हस्ताक्षर गर्नुभएको छ।
सम्झौता पत्रमा छात्रवृत्तिका मापदण्डअन्तर्गत अति विपन्न, दलित, सीमान्तकृत, द्वन्द्वपीडित, भूमिहीन, अभिभावकविहीन, सडक बालबालिका तथा विशेष प्राथमिकताका क्षेत्रअन्तर्गत विद्यालयले सञ्चालन गर्ने खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने छात्र/छात्रालाई समेटिएको उल्लेख गरिएको छ।
दुवै विद्यालयमा १०/१० जना कक्षा ११ र १२ का विद्यार्थीलाई ६ महिनासम्मको मासिक सहयोग शुल्क तथा भर्ना शुल्क वडा कार्यालयबाट व्यहोर्ने र विद्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ। उक्त कार्यक्रम यही शैक्षिक वर्ष २०८३ देखि कार्यान्वयनमा ल्याइने तथा प्रत्येक शैक्षिक वर्षको सुरुवातसँगै नवीकरण गरिने सम्झौतामा उल्लेख छ।
आर्थिक अभावका कारण विद्यार्थी पढाइबाट वञ्चित नहून् भन्ने मुख्य उद्देश्यले पूर्ण रूपमा निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताउनुभयो।



