बाराही माविको अभिभावक भेला सम्पन्न, वडा अध्यक्ष पाण्डेद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई पुरस्कार

पालिका डायरी
८ जेष्ठ २०८३, २०:३०

मकवानपुरको भीमफेदी गाउँपालिका–४ स्थित नीबुवाटारको बाराही माध्यमिक विद्यालयले आफ्नो ६६ औँ अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा २०८२ सालको एसईई परीक्षामा विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजालाई विशेष उत्सवका रूपमा मनाइएको थियो।

बाराही माध्यमिक विद्यालयले २०८२ सालको एसईई परीक्षामा मकवानपुर जिल्लाभरिका सामुदायिक विद्यालयहरूमध्ये पाँचौँ स्थान हासिल गर्नुका साथै भीमफेदी गाउँपालिकाभित्र प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ।

विद्यालयको यस सफलताप्रति खुसी व्यक्त गर्दै भीमफेदी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सागर पाण्डेले आफूले प्राप्त गर्ने एक महिनाको सेवा–सुविधा भत्ताबराबरको रकमबाट एसईई उत्तीर्ण विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरेका हुन्।

उनले उत्कृष्ट अंक ल्याउने ८ जना विद्यार्थीलाई जनही नगद रु. २ हजारका दरले सम्मान गरेका छन् भने विद्यालयका ७ जना मेहनती विषयगत शिक्षकहरूलाई एकमुष्ट रु. ६ हजार प्रोत्साहन पुरस्कार वितरण गरेका हुन्।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा भीमफेदी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सागर पाण्डेले विद्यालयको सफलतामा योगदान दिने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकलाई बधाई दिँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने बताए।

कार्यक्रमका विशिष्ट अतिथि तथा भीमफेदी गाउँपालिकाका शिक्षा शाखा अधिकृत चक्र साउदले विद्यालयको प्रगतिको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयले हासिल गरेको यो सफलताले भीमफेदी क्षेत्रको शैक्षिक स्तर थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया