हावाहुरीले थाहा–९ माझगाउँमा १९ लाखभन्दा बढी क्षति
मकवानपुरको थाहा नगरपालिका–९ माझगाउँमा आएको हावाहुरीका कारण स्थानीय बासिन्दाका घर तथा गोठमा ठुलो क्षति पुगेको छ । १२ गते बेलुका करिव ९:०० बजे आएको हावाहुरीबाट १० जना स्थानीयवासीका घर तथा पशुचौपाया राख्ने गोठमा क्षति पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ। यद्यपि, उक्त घटनामा कुनै मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
प्राप्त विवरणअनुसार कर्ण बलामीको दुई वटा घरमा जस्तापाता, काठ, फर्निचर, झ्यालढोका तथा अन्नबाली (गहुँ, धान, मकै) लगायत सामग्रीमा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, गोपाल बलामीको ट्रस्ट, जस्तापाता, इट्टा र काठमा १ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
घटोकप बलामीको बाख्रा गोठ र घरका संरचनामा १ लाख ५० हजार रुपैयाँ, जनकदास बलामीको घरको छानामा १ लाख रुपैयाँ, बुद्धि बहादुर बलामीको घरमा १ लाख रुपैयाँ बराबरको क्षति भएको छ प्रहरीले जनाएकाे छ ।
यसैगरी, कृष्ण बलामी र रमेश बलामीका घरमा क्रमशः ५०/५० हजार रुपैयाँ, राजन बलामीको बाख्रा गोठमा ९० हजार रुपैयाँ, हेमकुमारी बलामीको घरमा ४० हजार रुपैयाँ र ओम बहादुर बलामीको घरको झ्याल तथा सिसामा २५ हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।
उक्त घटनाबाट जम्मा १९ लाख ५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ।


