एमालेले भन्यो- देश जलाउनेहरूले नै हाम्रो झण्डा जलाए
नेकपा (एमाले)ले दाङमा बिहीबार पार्टीको झण्डा जलाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार एमाले आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले प्रेस विज्ञप्ति जारी गरी झण्डा जलाउनेहरूलाई कारबाही गर्न माग गरेका छन्। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो झण्डा जलाएको एमालेको आरोप छ ।
एमालेले आफ्नो झण्डा जलाउनेलाई गत भदौ २४ गते आगजनी र तोडफोड गर्नेहरू नै रहेको जिकिर गरेको छ । ‘लाखौँ जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्याउने गरी सूर्य चिह्न अंकित झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घट्नाले पुष्टि गरेको छ । यो अराजकता, उद्दण्डता र अपराधिक घट्नाको नेकपा (एमाले) घोर भत्र्सना गर्दछ,’ विज्ञिप्तमा भनिएको छ ।
यसलाई एमालेले अपराधजन्य कार्य भनेको छ । ‘अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका नाराबाजीसहित महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य हो,’ एमालेले भनेको छ ।
झण्डा जलाउने कार्यले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘झण्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । तसर्थ, निर्वाचन आयोगले सम्बन्धित दललाई तत्कालै प्रष्टीकरण लिई उनीहरूको जवाफ सार्वजनिक गर्न एमाले जोड्दार माग गर्दछ ।’
आफ्नो झण्डा जलाउनेलाई कारबाही नगरिए प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘यदि झण्डा जलाउने दल र त्यसका कार्यकर्ताहरू माथि कानुनी कारवाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घट्नाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झण्डा जलाउने दल रास्वपा हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ एमालेले भनेको छ ।


