एमाले मकवानपुरको लेखा परीक्षण : ‘हरहिसाब व्यवस्थित र पारदर्शी’
हेटौँडा / नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटी र हेटौँडा उपमहानगरपालिका कमिटीको अन्तिम लेखा परीक्षण सम्पन्न भएको छ। पार्टीको आर्थिक कारोबारलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउने उद्देश्यले लेखा परीक्षण गरिएको हो अन्तिम लेखा परीक्षणअघि जिल्ला र नगर कमिटीका लेखा समितिले आन्तरिक लेखा परीक्षण गरेका थिए। त्यसपछि एमाले केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराइलीले जिल्ला तथा नगर कमिटीको अन्तिम लेखा परीक्षण गरेका हुन्।
लेखा परीक्षणपछि आयोगले तयार पारेको प्रतिवेदन मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामा र हेटौँडा उपमहानगरपालिका कमिटीका उपाध्यक्ष राजकुमार बाँस्तोलालाई हस्तान्तरण गरिएको छ।
प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिनले पार्टीको केन्द्रीय लेखा आयोगले प्रदेशदेखि जिल्ला र पालिका तहसम्मको लेखा परीक्षण गर्ने व्यवस्था रहेको बताइन्। परीक्षणका क्रममा दोहोरो लेखा प्रणालीअनुसार हरहिसाब व्यवस्थित राखिएको, आम्दानीमा पारदर्शिता कायम गरिएको र खर्चमा मितव्ययिता अपनाइएको पाइएको उनले बताइन्।
आयोगले आगामी दिनमा लेखा प्रणालीलाई अझ व्यवस्थित बनाउन केही सुझावसमेत दिएको छ। लेखा परीक्षणमा सहयोग गर्ने सबैलाई आयोगका तर्फबाट धन्यवाद दिइएको थियो।
केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले मकवानपुर एमालेले विगतदेखि नै नियमअनुसार आर्थिक हरहिसाब व्यवस्थित गर्दै नियमित लेखा परीक्षण गर्दै आएको बताए। बागमती प्रदेशअन्तर्गतका १० जिल्लामध्ये मकवानपुर र हेटौँडा उपमहानगरपालिकाबाट लेखा परीक्षण सुरु भएको र पहिलो चरणमै सम्पन्न भएको उनले जानकारी दिए। उनका अनुसार बागमती प्रदेशअन्तर्गतका अन्य जिल्ला तथा पालिकाहरूको लेखा परीक्षण पनि मंसिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सिग्देलले मकवानपुर जिल्लामा राजनीतिक दलहरूको आन्तरिक आर्थिक कारोबार व्यवस्थित र पारदर्शी रूपमा राख्ने अभ्यासमा एमाले अगाडि रहेको दाबीसमेत गरे।
लेखा परीक्षण प्रतिवेदन हस्तान्तरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेशकुमार बर्तौला, प्रदेश कमिटी सदस्य बलराम बल लगायत जिल्ला कमिटी तथा हेटौँडा उपमहानगरपालिका कमिटीका पदाधिकारीहरूको उपस्थिति थियो।
लेखा परीक्षणका क्रममा प्रदेश लेखा कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र प्रदेश कमिटी कार्यालय सचिव घनश्याम श्रेष्ठले प्राविधिक सहयोग गरेका थिए


