हेटौँडामा एमाले बागमतीको सम्पर्क कार्यालय उद्घाटन
हेटौँडा / नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले प्रदेश राजधानी हेटौँडामा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। प्रदेशभरका सांगठनिक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र गतिशील बनाउने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्कमा रहेको नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय परिसरमा नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कार्यालय स्थापना गरिएको हो।
बुधबार आयोजित कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रम प्रदेश संगठन कमिटीका अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
नयाँ सम्पर्क कार्यालयमार्फत बागमती प्रदेशका १३ वटै जिल्लाका सांगठनिक गतिविधि, पार्टीका कार्यक्रम, नीतिगत समन्वय तथा संगठनसम्बन्धी कामको व्यवस्थापन र अनुगमन गरिने प्रदेश संगठन कमिटीले जनाएको छ।
प्रदेश राजधानीमै सम्पर्क कार्यालय सञ्चालनमा आएपछि प्रदेश कमिटी, जिल्ला कमिटी तथा स्थानीय तहका नेता–कार्यकर्ताबीचको सम्पर्क र समन्वय थप सहज हुने अपेक्षा गरिएको छ।
केन्द्रीय नीति तथा निर्देशनलाई प्रदेश हुँदै स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा स्थानीय तहका आवश्यकता र सुझाव प्रदेश नेतृत्वसमक्ष पुर्याउन कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने जनाइएको छ।
एमाले बागमती प्रदेश संगठन कमिटीले नयाँ कार्यालयलाई प्रदेशभरका सांगठनिक गतिविधिको समन्वय र सञ्चालनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने जनाएको छ। कार्यालय सञ्चालनसँगै प्रदेशमा पार्टीको सांगठनिक कामलाई थप व्यवस्थित, सक्रिय र तीव्र बनाउने लक्ष्य लिइएको छ।
उद्घाटन कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, १३ वटै जिल्लाका प्रतिनिधि, नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।


