पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याउन छलफल
हेटौंडा / मकवानपुरमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाले जोड दिएका छन् । पटक–पटकको अनुगमन र सम्झाइ बुझाइपछि पनि मासु पसल तथा बधस्थलमा स्वच्छता र कानुनी मापदण्ड पालना नभएको भन्दै अब कानुन कार्यान्वयनमा कडाइ गर्ने चेतावनी दिइएको छ ।
पशुसेवा कार्यालय मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा भएको पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मासु व्यवसायीलाई पटक–पटक सम्झाउन ेभन्दा अब कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
‘मासु पसल राम्रो बनाऊ भनेर कति सम्झाउने ? सरकारले मापदण्ड बनाइसकेको छ । मापदण्ड कहिल्यै पालना नगर्ने हो भने अब सम्झाएर मात्रै हुन्छ ?’ अधिकारीले प्रश्न गरे । चाडपर्वलाई लक्षित गरी हेटौंडाका मासु पसलमा दैनिकजसो अनुगमन भइरहेको बताउँदै उनले अनुगमनका क्रममा कतिपय पसलमा अत्यन्तै अस्वच्छ अवस्था भेटिएको जानकारी दिए । मासु काट्ने स्थानमा प्रयोग हुने कपडा लामो समयसम्म सफा नगर्ने, फोहोर व्यवस्थापन नगर्ने तथा मासुजन्य फोहोर जथाभावी फाल्ने समस्या अझै रहेको उनले बताए ।
हेटौंडा–बस्तीपुर क्षेत्रमा गरिएको अनुगमनका क्रममा माछा पोखरीमा मरेका माछा, पशुको अवशेष तथा कुकुर समेत फालिएको भेटिएको जानकारी दिँदै अधिकारीले यस्तो वातावरणमा उत्पादन हुने माछाले मानव स्वास्थ्यमा पार्न सक्ने असर गम्भीर रहेको बताए । उनले माछा तथा मासुको उत्पादन, बिक्रीवितरण र फोहोर व्यवस्थापनलाई कानुनी मापदण्डअनुसार व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
मङ्गुर माछाको उत्पादन तथा बिक्रीवितरणमाथि समेत कानुनी नियन्त्रण आवश्यक रहेको बताउँदै उनले प्रतिबन्धित माछा बिक्री गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन अभियानकै रूपमा काम गर्नुपर्ने बताए । अधिकारीले हेटौंडा उपमहानगरपालिका क्षेत्रका पशु बधशाला, वधस्थल तथा मासु पसलको लगत संकलन गरी दर्ता तथा इजाजतपत्रको अवस्था यकिन गर्ने तयारी भइरहेको बताए । अनुमति नलिई सञ्चालनमा रहेका व्यवसायलाई कानुनी प्रक्रियामा ल्याउने र मासु पसलमा डिजिटल ढक–तराजुको प्रयोगलाई अनिवार्य गरिनुपर्नेमा समेत उनले जोड दिए ।
यता, पशुसेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले ज्ञात मानव रोगमध्ये करिब ६० प्रतिशत रोग पशुबाट मानिसमा सर्न सक्ने भएकाले पशु बधशाला तथा मासु जाँच ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । पशु बध गर्नेदेखि मासु बिक्रीसम्मका सम्पूर्ण गतिविधिलाई कानुनी मापदण्डभित्र ल्याउनुपर्नेमा जोड दिँदै प्रधानले व्यवसायी तथा सरोकारवालालाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरे ।
उनका अनुसार पशु बधशाला, वधस्थल तथा मासु पसल सञ्चालन गर्दा आवश्यक स्वीकृति तथा इजाजतपत्र लिनुपर्ने व्यवस्था छ । नयाँ बधशाला तथा वधस्थल स्थापना गर्दा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने र हाल सञ्चालनमा रहेका बधशाला तथा वधस्थलको समेत अनुगमन गरी आवश्यक सुधार, स्तरोन्नति तथा दर्ता–इजाजतको प्रक्रिया पूरा गराउनुपर्ने व्यवस्था छ । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि पशुको स्वास्थ्य परीक्षण, स्वच्छ बधस्थल, सफा पानी, फोहोर व्यवस्थापन तथा मासुको निरीक्षणलाई प्राथमिकता दिनुपर्ने प्रधानले बताए ।हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले मासु व्यवसायसम्बन्धी कानुन कार्यान्वयनका लागि समयसीमा तोकेर अघि बढ्ने बताइन् । उनले माघ १ गतेदेखि ऐन कार्यान्वयनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिइन् ।
मासु व्यवसायलाई व्यवस्थित गर्न उपमहानगरपालिका र बागमती प्रदेश सरकारले व्यवसायी तथा अन्य सरोकारवालासँग विगतदेखि नै छलफल र समन्वय गर्दै आएको बताउँदै लामाले अब भएका छलफललाई कार्यान्वयनमा लैजानुपर्ने बताइन् । ‘सरकारले ऐन बनाइदिएको छ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको हो । सरकारले मात्र परिवर्तन गर्ने होइन, हामी जहाँ छौँ, त्यहीँबाट जिम्मेवार भएर काम गर्नुपर्छ,’ लामाले भनिन् ।
कार्यक्रममा व्यवसायीहरूले भने दर्ता गरेर, भाडा तिरेर र तोकिएका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई खुला रूपमा सञ्चालन हुने व्यवसायका कारण समस्या भइरहेको गुनासो गरेका छन् । मासु व्यवसायी संघ मकवानपुरका अध्यक्ष शान्तकी खड्कीले खुला रूपमा माछा तथा मासु बिक्री गर्ने व्यवसायीका कारण कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्नेहरू प्रभावित भएको बताए । उनले खुला रूपमा व्यवसाय सञ्चालन गर्नेहरूमाथि निगरानी बढाई कानुनी दायरामा ल्याउन माग गरे ।
माछामासु व्यवसायी संघका कोषाध्यक्ष विनोद शाहीले खुला खसी बजारलाई व्यवस्थित गर्नुपर्ने बताए । मनलाग्दी रूपमा खसीको मूल्य निर्धारण गर्ने तथा तौल नगरी बिक्री गर्ने प्रवृत्तिका कारण व्यवसायी घाटामा पर्ने गरेको भन्दै उनले व्यवस्थित खसी बजार सञ्चालन गर्न माग गरे । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, वडाध्यक्ष, पशुसेवा कार्यालयका अधिकारी, मासु तथा माछा व्यवसायी तथा अन्य सरोकारवालाको सहभागिता थियो ।


