महेश बर्तौला फेरि मकवानपुर-२ बाट सिफारिस, तर सुवासचन्द्र ठकुरीको चुनौती
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर-२ बाट नेकपा एमालेले दुई जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।
एमाले मकवानपुर जिल्ला कमिटीले मकवानपुर-२ का लागि पार्टीका प्रमुख सचेतक भइसकेका नेता महेश बर्तौला र संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको हो ।
बर्तौला २०७९ को प्रतिनिधि सभा निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भएर सांसद बनेका थिए । त्यतिबेला उनले पाँचदलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार बढी मतान्तरले हराएका थिए ।
जिल्ला कमिटीले पठाएको नाम प्रदेश कमिटी हुँदै एमालेको केन्द्रमा पुग्नेछ । केन्द्रीय कमिटीले दुईमध्ये एक जनालाई मकवानपुर-२ को उम्मेदवार बनाउनेछ । दुई जनाको नाम सिफारिस गरिए पनि अन्तिममा पार्टीले बर्तौलालाई उम्मेदवार बनाउने सम्भावना बलियो रहेको मकवानपुर एमालेका केही नेताको दाबी छ।
बर्तौला एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छ ।


