मकवानपुरमा ओली पक्ष हावी, पोखरेलाई समर्थन गर्ने जिल्ला अध्यक्ष नै पराजित
हेटौंडा / नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मकवानपुरबाट १७ जना प्रतिनिधि चयन भएका छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ का प्रतिनिधि सर्वसम्मत रुपमा चयन हुँदा क्षेत्र नम्बर १ मा भने निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको हो। जसमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिनिधिको उम्मेदवार रहेका एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरल आफै पराजित भएका छन्।
श्रीमतीको उपचारका लागि विर अस्पतालमा रहेका अध्यक्ष पोखरेलले अस्पतालबाटै वारेस मार्फत उम्मेदवारी दर्ता गराएका थिए। उनको पक्षमा ३३४ मत मात्रै प्राप्त भएको थियो। आफू प्रतिनिधिको निर्वाचनमा पराजित भएपछि उनले मतदातालाई धन्यवाद दिदैँ यसको समीक्षा हुने बताएका छन्।
आइतबार (आज) बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष पोखरेलले भनेका छन्, ‘भ्रामक प्रचारका बाबजुद पनि आफूलाई मतदान गर्ने कमरेडहरुलाई धन्यवाद र समीक्षा गरौं किन २० प्रतिशत भन्दा कम मतदान भयो?’ उनले खुलेरै एमालका वरिष्ठ नेता इश्वर पोखरेललाई एमाले अध्यक्षमा समर्थन गर्दै आएका थिए।
यसैबीच महाधिवेशनका लागि मकवानपुर क्षेत्र नम्बर १ को मतपरिणाम अनुसार अणराज जर्गा मगर, नवीन सिग्देल, फुर्वादोर्जे लामा, सुनिल मोक्तान, आरती पाठक, विना कुमारी थिङ, सीता विष्ट र बोलबहादुर कार्की प्रतिनिधिमा निर्वाचित भएका हुन्।
यस्तै, क्षेत्र नम्बर २ मा हिदम लामा, एकालाल श्रेष्ठ, बलराम बल, भगवती पुडासैनी, रोहण लामा, सुमित्रा काप्mले, विदुर हुमागाईँ र गीता काप्mले र देवकृष्ण विक निर्विरोध चयन भएका हुन्। मकवानपुरबाट छनौट भएका प्रतिनिधि सबै एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन्।


