हेटौंडा / जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका कैदीद्वारा चोरी गरी बिक्री गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन्।
गत बिहीबार (मंसिर ११) गते हेटौंडा उपमहानगरपालिका–७ हरियालीस्थित सडकखण्डमा नियमित गस्तीमा रहेको प्रहरीले बा ४० प ४२९५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा सो मोटरसाइकल चलाइरहेका हेटौडा–१५ भोर्ले निवासी २१ वर्षीय अभिषेक वाइवालाई कागजात माग्दा कुनै कागजपत्र नपाएका कारण प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
थप अनुसन्धानका क्रममा उक्त मोटरसाइकल हेटौंडाका २६ वर्षीय राजेश खातीले बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
राजेश खाती भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनको बेला काठमाडौँको केन्द्रीय कारागार सुन्धराबाट भागेर फरार भएका कैदीमध्ये एक हुन्। फरार खाती केही दिनअघि पुनः पक्राउ परेपछि हाल कारागार मै रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका अभिषेक वाइवा र मोटरसाइकल सम्बन्धी थप अनुसन्धान जारी छ।




