एमाले पार्टी कार्यालय मकवानपुरकाे क्षतिको विवरण सार्वजनिक, के के भयो क्षति ?

पालिका डायरी
२७ भाद्र २०८२, १८:०३

हेटौंडा /  नेकपा एमाले मकवानपुर जिल्ला पार्टी कार्यालय हेटौंडामा मंगलबार भएको आगजनीको विवरण पार्टीले सार्वजनिक गरेको छ ।

तीनतले कार्यालय भवनका भूइँतलाको सभाहल प्रयोगमा ल्याउनै नमिल्नेगरी ध्वस्त भएको छ । कुनै पनि कोठाहरु बस्न योग्य देखिएका छैनन् भने कार्यालयमा लगाइएको आगोले सबैतिर क्षति भएको छ । जेन्जी समूहका नाममा अराजक समूहले मंगलबार पार्टी कार्यालयमा आगजनी गरेको हो ।

शुक्रबार भएको सरसफाइपछि पार्टी कार्यालयमा नष्ट भएका जिन्सी सामानबारे तथ्य सार्वजनिक गरिएको छ । पार्टी कार्यालयका अनुसार, १० थान दराज, २ थान प्रिन्टर, १५ थान अफिस कुर्सी आगजनीमा नष्ट भएको छ । यस्तै, स्टिलको १ थान सोफा, १० थान अफिस टेबल, ८ थान पंखा, ३ सय ५० वटा प्लास्टिकका कुर्सी, २ थान ल्यापटप, २ थान कम्प्युटर, ९ थान साइनबोर्डमा पनि आगजनी गरेर क्षति पुर्याइएको पाइएको एमाले जनसंगठन प्रमुख सन्तोष पौडेलले बताए । आगजनी भएका सामान व्यवस्थापन गरी कार्यालय सरसफाइ गर्न सीता देवी टे्डर्सलाई काम दिइएको एमालेले जनाएको छ ।

शुक्रबार बिहान एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, हेटौँडा उपमहानगर अध्यक्ष बोलबहादुर कार्कीसहितका एमालेका नेता कार्यकर्ताले पार्टी कार्यालय सरसफाइ गरेका थिए । यो अपुरणीय क्षतिसँगै फेरि नेता कार्यकर्ताको मनोबल बढाएर वडातहसम्म सक्रिय हुने वातावरण निर्माणका लागि पार्टी क्रियाशील रहेको केन्द्रीय सदस्य रामेश्वर रानाले बताए ।

प्रतिक्रिया