राक्सिराङको बजेट ६३ करोड ५२ लाख: गाँजा बहस गर्नेदेखि घर उपहारसम्मका कार्यक्रम

पालिका डायरी
१० असार २०८२, १९:३४

हेटौंडा /  मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट ल्याएको छ । मंगलबार गाउँसभा मार्फत ६३ करोड ५२ लाखको बजेट ल्याएको हो । यो बजेट अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो ।

राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले पेस गरेको बजेटमा चालु तथा पूँजीगत खर्च समेट्दै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतमार्फत जुटाइने आम्दानीको विवरणसहित बजेट ल्याएको हो ।

राक्सिराङ गाउँपालिकाले बजेटको स्रोत व्यवस्थापनका लागि सङ्घीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान १० करोड ५८ लाख २२ हजार रुपैयाँ, आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ ।
राक्सिराङको आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चमा वृद्धि गरिएको देखिन्छ भने चालु खर्चको तुलनामामा पूँजीगत खर्च घटाइएको छ । संघीय र प्रदेश सरकारको अनुदानमा समेत वृद्धि भएको छ ।

त्यसोत, यस गाउँपालिकाले गाँजा खेतिको बसह गर्ने नीति बनाएको छ । विभिन्न अनुसन्धानहरुबाट औषधीय गुणले युक्त भनि प्रमाणित भैसकेको बनस्पति गाँजाको व्यवस्थित खेतिलाई विश्वका कैयौं देशहरुले वैधानिकता दिईसकेको र यस गाउँपालिकाभित्र पनि ठूलो मात्रामा यसको व्यवसायिक खेति हुने सम्भावना भएकोले यसको बहस गरिने बताइएको छ ।

कपडा, औषधी, तेल र अचार उत्पादन गर्न सकिने बहुउपयोगी गाँजा खेतिलाई वैधानिकता प्रदान गर्न विज्ञ एवम सरोकारवालाहरुको सहभागितामा गाँजा बहस तथा अनुसन्धान कार्यक्रम सञ्चालन गरी यस विषयलाई राष्ट्रिय महत्वको विषयको रुपमा प्रदेश तथा संघीय सरकार समक्ष आवश्यक पहल गरिने बताइएको छ ।
परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष भन्ने नाराको साथ गाउँपालिकाभित्रका उजोशील
युवाहरुलाई श्रममुलक सामाजिक कार्यमा लगाउन उपाध्यक्ष श्रम अभियान कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाका दुर्गम भेगहरुबाट बसाईसराई गरि सुगम पालिकाहरुमा जाने प्रवृत्तिलाई निरुत्साहित गरि अन्यत्रबाट गाउँपालिका भित्र बसाई सरि आउन आकर्षित गर्न गत आर्थिक वर्षमा घोषणा गरिएको “सुन्दर समाज हाम्रो सार, बसाईं सरि आउनेलाई घर उपहार’’ कार्यक्रमलाई व्यवस्थित बनाई निरन्तरता दिईने नीति बताइएको छ ।

प्रतिक्रिया