जिफन्ट सम्बद्ध समग्र उद्योग ट्रेड युनियनको भारी मतान्तरले जित

पालिका डायरी
६ असार २०८२, १८:४६
जिफन्ट सम्बद्ध समग्र उद्योग ट्रेड युनियनको भारी मतान्तरले जित

हेटौंडा / समग्र उद्योग ट्रेड युनियन नेपाल, जिल्ला समन्वय समितिको नेतृत्वमा आज सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको घटक संस्था समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) ले भारी मतका साथ विजयी हासिल गरेको छ।

नेकपा (एमाले) निकट जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) ले अखिल नेपाल औद्योगिक मजदुर संघलाई पराजित गर्दै विजय हासिल गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरका जिल्ला अध्यक्ष सम्भु लामाले बताए। आज भएको एन्टारटिक बिस्कुट प्रा.लि. को निर्वाचनमा महागठबन्धनलाई ट्रेड युनियन नेपाल (व्हिन) ले पराजित गरेको लामाले जानकारी दिए।

“यो जित केवल मतको विजय होइन, यो श्रमिकको विश्वास, प्रतिबद्धता र सही नेतृत्वप्रति गरिएको समर्थनको उज्यालो प्रतीक हो,” भन्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले खुसी व्यक्त गरे। उनले भने, “अन्ततः श्रमिकले त्यस्तो संगठन रोज्नुभयो, जसले सधैं श्रमिकको हक, हित र सम्मानका लागि स्पष्ट दिशा र सशक्त आवाज प्रस्तुत गर्दै आएको छ।”

अर्यालले नव निर्वाचित समितिलाई श्रमिकको अधिकारका लागि अविरल लागिरहन आग्रह गरे। साथै, एन्टारटिक बिस्कुटको आधिकारिक निर्वाचनमा मतदान गर्ने सम्पूर्ण श्रमिक दाजुभाइ-दिदीबहिनीहरूलाई धन्यवाद समेत व्यक्त गरे।

“जित हाम्रो संकल्पलाई अझ दृढ बनाओस्, संगठन अझ सशक्त बनोस्, र श्रमिक अधिकारको आन्दोलन निरन्तर अगाडि बढोस्,” उनले भने।

प्रतिक्रिया