कैलाशमा पहिलो पटक एसईई परीक्षा केन्द्र सञ्चालन, पालिकाद्वारा अनुगमन

पालिका डायरी
६ चैत्र २०८१, २१:४३

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक एसईई परीक्षा केन्द्र सञ्चालनमा आएको छ। बिहीबारदेखि सुरु हुने परीक्षाका लागि कैलाश-९ स्थित कालिका माध्यामिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो। बुधबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, वडा-९ का अध्यक्ष भुवनसिंह घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, स्रोत शिक्षक ध्रुवराज विष्ठ, प्राविधिक सहायक दीपेन्द्र अधिकारी लगायतको टोलीले परीक्षा केन्द्रको अनुगमन गरेको थियो।

२१६ विद्यार्थी परीक्षा केन्द्रबाट सहभागी

कैलाशका पाँच विद्यालयबाट १४९ नियमित र ६७ ग्रेडवृद्धि गरी कुल २१६ विद्यार्थी परीक्षा दिनेछन्। यसअघि विद्यार्थीहरूलाई मनहरी, थाहा वा हेटौंडा पुगेर परीक्षा दिनुपर्ने बाध्यता थियो। त्यसले गर्दा विद्यार्थीहरूलाई यात्रा गर्नुपर्दा असुविधा हुने भएकाले गाउँपालिकामै परीक्षा केन्द्र स्थापना गरिएको अध्यक्ष मुक्तानले बताए।

विद्यार्थीका लागि खाना र आवासको व्यवस्था

भौगोलिक विकटताका कारण विद्यार्थीलाई परीक्षा अवधिभर सहज बनाउन गाउँपालिकाले खाना र आवासको व्यवस्था गरेको छ। परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। विद्यार्थीहरूको आवास क्षेत्रका लागि गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाबाट एक-एक जना कर्मचारी खटाइएको छ।

विद्यालय अनुसार विद्यार्थी संख्या

  • कमलादेवी मावि: नियमित २८, ग्रेडवृद्धि ११
  • भवानी मावि: नियमित ४६, ग्रेडवृद्धि २५
  • व्यास मावि: नियमित ४८, ग्रेडवृद्धि १८
  • धुवाङ मावि: नियमित ९, ग्रेडवृद्धि २
  • रत्नज्योति मावि: नियमित १८, ग्रेडवृद्धि ११
  • कालिका मावि: नियमित ४५, ग्रेडवृद्धि १० (भुटनदेवी मावि, हेटौंडा-४ बाट परीक्षा दिने)

गाउँपालिकाले सम्पूर्ण खर्च व्यहोर्ने

विद्यार्थीहरूको खानासहित सम्पूर्ण व्यवस्थापन खर्च गाउँपालिकाले व्यहोर्ने जनाएको छ। परीक्षा अवधिभर विद्यार्थी र अभिभावकको कुनै गुनासो नआओस् भनेर सम्बन्धित शाखाहरुलाई आवश्यक निर्देशन दिइएको छ।

यस वर्ष मकवानपुरबाट ५,८६५ नियमित र १,५९१ ग्रेडवृद्धि गरी कुल ७,४५६ विद्यार्थी एसईई परीक्षा दिनेछन्।

प्रतिक्रिया