कैलाशको अर्धवार्षिक समीक्षा,चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति
हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकाको बुधबार आव २०८१/८२ को अर्धवार्षिक समीक्षा भएको छ। समीक्षा कार्यक्रममा प्रस्तुत भएको विवरणअनुसार गाउँपालिकाले फागुन मसान्तसम्ममा गाउँपालिकाको चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति भएको छ। चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपैयाँ बजेटमध्ये ४२.६ प्रतिशत बजेट खर्च भएको गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालले बताए। पुँजीगततर्फ भने १३.९८ प्रतिशत खर्च भएको उनले बताएका छन्।
प्रदेश कार्यक्रमबाट प्राप्त अनुदानमा २४.४९ प्रतिशत खर्च भएको बताउँदै संघीय सरकारतर्फ भने ४०.६२ प्रतिशत रकम खर्च भएको धितालले बताए। गाउँपालिकाले वडागत आम्दानीमा १९ लाख ४२ हजार ४६९ रुपैयाँ राजस्व संकलन गर्नुका साथै गाउँपालिकाले तोकिएको विभिन्न राजस्व शीर्षकमा हालसम्म प्रदेशलाई छुट्याएर ७४ लाख ८८ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख विक्रम थिङले बताए।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरूले प्रगति विवरण प्रस्तुत गर्नुका साथै समस्या र चुनौतिहरूबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। गाउँपालिकाको एक सय ३८ वटा योजना छन्। केही वडाले सतप्रतिशत योजना सम्झौता गरे तापनि केही वडाले योजना सम्झौता गर्न बाँकी रहेको योजना तथा अनुगमन शाखा प्रमुख नरेन्द्र दत्त भट्टले बताए। “हामीले केही योजना अनुगमन गरिसकेका छौँ, बाँकी छिट्टै गर्नेछौँ,” भट्टले भने।
गाउँपालिकाको शैक्षिक सूचकहरूको अवस्था, बाल विकास केन्द्र, विद्यालय, शिक्षक र विद्यार्थीको अवस्थाबारे शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले प्रस्तुत गरेका थिए। उनले समग्रमा संघीयतर्फ ४३.७४ प्रतिशत, प्रदेशतर्फ ५३.८४ प्रतिशत र स्थानीय स्रोततर्फ ४५.७७ प्रतिशत वित्तीय प्रगति भएको बताए।
त्यस्तै, संघीय कार्यक्रमअन्तर्गत एक हजार ४८ जना किसानलाई किसान सूचिकरण कार्यक्रममा समावेश गरिएको कृषि तथा पशु विकास शाखा प्रमुख राहुल सेञ्चुरीले बताए। शाखाबाट बेमौसमी खेती, फलफूल खेती, मौरीपालन, कृषक समूह बैठक, तरकारी प्रवर्द्धन कार्यक्रम, अर्गानिक खेती कार्यक्रम, गोठखोर सुधार कार्यक्रमजस्ता कार्यक्रमहरू कार्यान्वयन भइरहेको उनले बताए। स्वास्थ्यसँग जोडिएका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनुका साथै औषधि खरिद तथा वितरण, विपन्न नागरिक सहयोग कार्यक्रम, सुत्केरी कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य शाखाले जनाएको छ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको चेली प्रोत्साहन कार्यक्रम, जेष्ठ नागरिकसँग जनप्रतिनिधि, आमाबुबाविहीन बालबालिका संरक्षण कार्यक्रम, घरेलु हिंसा, किशोरी कार्यक्रमहरू कार्यान्वयन भइरहेको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले बताइन्। गाउँपालिकामा ज्याला मजदुरी, झगडा, छरछिमेकीको साँध लगायत अन्य विषयका मुद्दाहरू न्यायिक समितिमा दर्ता भइरहेको न्यायिक सहजकर्ता अस्मिता थापाले बताइन्। शाखाबाट मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम कार्यक्रमसमेत गरिएको उनले बताइन्।
कार्यक्रममा पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिल प्रसाद जोशीले तीन तहकै योजनाहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए भने प्रशासन प्रमुख ज्वाला कुमारी स्याङ्तानले पालिकाभित्र रहेका कर्मचारीहरूको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन्। त्यस्तै, उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले शाखाले गरेको कार्यक्रम र गर्नुपर्ने बाँकी कार्यक्रमहरूबारे प्रस्तुतीकरण गरेकी थिइन्।
शाखाका प्रगति प्रतिवेदन प्रस्तुत पश्चात गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले योजनालाई कार्यान्वयन गर्न कानून आवश्यक पर्ने बताउँदै, कानून समयमै निर्माण गर्नुपर्नेमा जोड दिए। “पालिकाले तय गरेको निर्देशनअनुसार कर्मचारीले नियम पालना गर्नुपर्छ,” अध्यक्ष मुक्तानले भने। “हामीले समयसीमाभित्र कार्यसम्पादन गर्दा संघीय र प्रदेशबाट प्राप्त हुने अनुदान वृद्धि हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ,” उनले थपे।
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले काम र योजनालाई कार्यान्वयन गर्न सम्बन्धित शाखाले ध्यान दिनुपर्ने बताउँदै अनुगमन र न्यायिक समितिको काममा आफू सधैं तत्पर रहेको बताए। शाखाका समस्या भए आवश्यक छलफल गरेर मात्र समाधान गर्नतर्फ जानुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष तेजबहादुर ब्लोन, वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा ४ का अध्यक्ष तीलककुमार मोक्तान, वडा ७ का अध्यक्ष उदाससिं भोलन, वडा ८ का अध्यक्ष आशिष प्रजा, वडा ९ का अध्यक्ष भूवनसिं घलान, वडा १० का अध्यक्ष सूर्यबहादुर भ्लोन लगायत कार्यपालिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।


