बागमतीमा हेरेर अरु प्रदेशले संघीयता सञ्चालन गर्न सिक्ने अवस्था बनाउने मन्त्री काफ्लेको उद्घोष
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अरु प्रदेशहरुले संघीयता कसरी सञ्चालन गर्न सकिन्छ भनेर बागमती प्रदेशलाई हेरेर सिक्ने अवस्था बनाउने उद्घोष गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस इकाई समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले यसो भनेका हुन् ।
प्रदेशको हकमा संविधानभित्र रहेको मौलिक हक र अधिकार प्राप्तिको विषयमा केही कानूनी अड्चन भएतापनि बागमती प्रदेशले शिक्षा, स्वास्थ, रोजगार, खाद्य र समाज विकासको विषयमा दृष्टिकोण बनाएको मन्त्री काफ्ले बाताउँछन् ।
‘विगतका दिनहरुमा समाज परिवर्तनको निम्ति आन्दोलनहरुमा यस पशुपती बहुमुखी क्याम्पसबाट विद्यार्थीहरुको अहम भूमिका रहेको थियो ।’ – उनले भने, ‘म आफूपनि विद्यार्थी राजनितीबाट आज यहाँसम्म पुगेको छु, म आज जुन स्थानमा भएतापनि मेरो धरातल भनेको नेपाल विद्यार्थी संघ र हजुर विद्यार्थीहरुको हो ।’
नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पसका इकाई अध्यक्ष सरोज लिम्बुको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा क्याम्पस प्रमुख बिनोद पन्त, नेविसंघका पूर्व नेता र क्याम्पसका विद्यार्थीहरुलगायतको उपस्तिथि रहेको थियो ।

