उप-प्रमुख रेणुकुमारी महतो चढ्ने गाडीमा आगजनी

पालिका डायरी
८ पुष २०८०, १०:२५

महोत्तरी गौशाला नगरपालिकाकी उप-प्रमुख रेणुकुमारी महतो चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगो लगाएका छन् ।

गौशाला नगरपालिका १ रामनगरस्थित उपप्रमुख महतो आफ्नै घर अगाडी पार्किङ गरेर राखेको प्रदेश २-००२-००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो । पछाडिको टायरमा पेट्रोल छर्केर आगो लगाइएको देखिएको छ ।

आइतबार बिहानै करिब दुई बजेतिर उपप्रमुख महतो चढ्ने गाडीमा आगजनी गर्दा पछाडिको भागमा सामान्य क्षति पुगेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए ।

उनका अनुसार आगजनी कसले गरेको विषयमा केहि खुलेको छैन । अनुसन्धान भइरहेको छ । उपप्रमुख महतो जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित हुन् । गाडीको विषयलाई लिएर सामाजिक संजालमार्फत् उनलाई पहिलेदेखि धम्की आइरहेको थियो ।

उनी भन्छिन्, ‘कहिले के नामको त कहिले के नामको फेसबुकबाट गाडीकै विषयलाई लिएर धम्की दिएको छ । अहिले कसैको नाम भन्न सक्दिन । प्रहरीले अनुसन्धान गरिरहेको छ । सबै कुरा खुल्छ ।’

गौशालामा जसपाबाटै निर्वाचित डा. दिपेन्द्र महतो नगरप्रमुख छन् । महतो एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीका छोरा हुन् । नगर प्रमुख डा. महतोसँग एकवर्षदेखि गाडी र आफूले पाएको अधिकारमा हस्तक्षेप गर्दा विवाद चलिरहेको उपप्रमुख महतोको भनाई छ ।

प्रतिक्रिया