राजीनामा मागिएपछि बोले मन्त्री किराती, ‘अहिले म सबैको अभिभावक हुँ’
file photo
उपत्यकाब्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफू सबैको अभिभावक भएको स्पष्टीकरण दिएका छन् ।
उनले आफूलाई पशुपतिनाथ सफा गर्दा हिन्दु, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम र क्रिष्चियनहरुको कार्यक्रममा जाँदा क्रिष्चियनको उपमा दिइएको उनको भनाइ छ । उनले संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नसमेत आग्रह गरेका छन् ।
आफ्नो अस्तित्व सम्मानित हुनका लागि अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने उनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः
वहशको लागि सबैलाई धन्यवाद । संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो । भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने ।
फेरिपनि भन्छु– अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा, अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।


