विश्वप्रकाश शर्मा भन्छन्- सरकारले कयौं विषयमा गल्ती गर्‍यो

पालिका डायरी
१९ आश्विन २०८०, १६:३५
विश्वप्रकाश शर्मा भन्छन्- सरकारले कयौं विषयमा गल्ती गर्‍यो

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।

महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरूलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए । शुक्रबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिए ।

उनले सरकारले संसदमा पेस गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए ।

‘अत्यन्त जघन्य अपराधमा संलग्न मान्छेलाई आम माफीको प्रक्रियाबाट छोड्दैछ । त्यसैले त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालय बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ, त्यसलाई कार्यान्वयन गर्ने समाज, त्यसलाई कति गम्भीर रूपमा लिन्छ ? त्यसैले मैले टुङ्ग्याउँदै गर्दा अन्तिममा अपिल र आग्रह गर्न चाहन्छु– सरकार कयौं निर्णयहरूमा जो कमजोरी गरिरहेको छ, यो विषय कमजोरी नगरोस्,’ शर्माले भने, ‘गल्ती नगरोस् । शिक्षक आन्दोलन जे भएको थियो । र, त्यसले प्रस्तुत गरेको एक, एक बुँदामा किन्तु, परन्तु केही पनि नगरी राहत शिक्षकहरूले समेत राखेका भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाइराखेर यसलाई परिमार्जित गरेर ती सबैको भावनालाई सम्बोधन गर्नेगरी बनोस् । ताकि ५० वर्षपछि आएको यो विधेयकले अब २० वर्षका लागि उज्यालो छर्न सकोस् । ’

उनले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

प्रतिक्रिया