कांग्रेस महाधिवेशन : वरिष्ठ नेता पौडेल भोट हाल्न नजाने
file photo
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन्। सोमबार बिहानबाट नयाँ नेतृत्वका लागि जारी मतदान प्रक्रियामा उनले भाग नलिने भएका हुन्।
पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारी अहिलेको अस्वस्थ प्रतिस्पर्धाप्रति नेता पौडेलले असहमति जनाएको बताए। अधिकारीले भने ‘अहिलेको कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा छ। अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नु भएको छ।’
पौडेलले कसलाई समर्थन गर्ने अहिलेसम्म खुलाएका छैनन्। पौडेलले प्रतिस्पर्धाबाट आफू बाहिरिएपनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आह्वान गरेको पौडेललाई उदृत गर्दै अधिकारीले बताए।
उनी संस्थापन इत्तरमा सभापतिका सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि १४ औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट समेत बाहिरिएका थिए।पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न प्यानलको तर्फबाट साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव थियो। सबै मिले आफूले मान्ने, नभए आफूलाई साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव थियो। तर, पौडेलले सोचेजस्तो न साझा उम्मेदवार बन्ने स्थिति बन्यो, न त पौडेललाई नै ‘अन्तिम’ उम्मेदवार बन्ने मौका दिइयो। ‘प्यानल’ भित्रै तँछाडमछाड चलेपछि पौडेलले केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा भाग लिएनन्, उम्मेदवारी मनोनयन कार्यक्रममा पनि सहभागी भएनन्।
१४औं महाधिवेशनमा त पौडेललाई आफ्नै टिमका सहयात्रीले साझा उम्मेदवार नमान्ने अड्डी लिए। शशांक कोइराला ‘लचिलो’ बने पनि शेखर कोइराला र प्रकाशमान सिंहले अड्डी कसे। त्यही कारण, पौडेलले सभापतिको उम्मेदवार नबन्ने घोषणा गरे। सभापतिमा शेरबहादुर देउवा, डा. कोइराला, सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्ने भएका छन्।



