एमाले कोशी अधिवेशन: अझै सुरू भएन मतदान

पालिका डायरी
१४ आश्विन २०८०, १४:३५
एमाले कोशी अधिवेशन: अझै सुरू भएन मतदान

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ११ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका भए पनि अहिलेसम्म मतदान सुरू हुन सकेको छैन। निर्वाचन समितिका अनुसार अझै तीन घन्टाभन्दा बढी समयपछि मात्रै मतदान सुरू हुने सम्भावना छ।

‘२१५ पदमा ६ सय हाराहारी उम्मेदवारी थियो, धेरैले फिर्ता लिएर सहमतिको प्रयास पनि भइरहेको थियो। मतपत्र बनाउन समय लाग्ने अवस्था भएपछि ढिला भएको हो,’ निर्वाचन समिति संयोजक चुडामणि आचार्यले भने, ‘अझै तीन घन्टाभन्दा बढी समय लाग्ने देखिन्छ। मतपत्र तयार हुँदैछ।’

अध्यक्षका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन्। अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूले प्यानल नबनाउन भने पनि अध्यक्षका दुबै आकांक्षी प्यानलसहित चुनावी मैदानमा छन्। अहिले दुबै उम्मेदवार अधिवेशनस्थलमा भोट माग्न व्यस्त छन्।

उपाध्यक्षमा टीकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ। उनी निवर्तमान उपाध्यक्ष हुन्।ढकाल प्यानलबाट सचिवमा उदयपुरका शैलेश लामा छन् र खतिवडा प्यानलबाट सचिवमा पाँचथरका राजकुमार भण्डारी छन्।

प्रतिक्रिया