हेटौंडामा तालिम प्राप्त जनशक्तिलाई रोजगारीमा जोड्न उपमहानगरपालिका र चाँगुनारायण फाउन्डेसनबीच सम्झौता
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाभित्र विभिन्न क्षेत्रमा सीपमूलक तालिम प्राप्त गरेका जनशक्तिलाई सीप र दक्षताअनुसार रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका र चाँगुनारायण फाउन्डेसनबीच द्विपक्षीय सम्झौता भएको छ।
सम्झौताअनुसार उपमहानगरपालिकाभित्र मन्टेश्वरी, कृषि लगायतका विभिन्न क्षेत्रमा तालिम प्राप्त व्यक्तिहरूलाई रोजगारदाता संस्थाको माग र आवश्यकताका आधारमा रोजगारीमा आबद्ध गराइनेछ। यस कार्यक्रमले तालिम लिएर पनि रोजगारीको अवसर नपाएका व्यक्तिलाई आफ्नो सीप प्रयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमअन्तर्गत रोजगारीमा आबद्ध हुने जनशक्तिलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइनेछ। उक्त पारिश्रमिकको ५० प्रतिशत रकम चाँगुनारायण फाउन्डेसनले र बाँकी ५० प्रतिशत रकम सम्बन्धित रोजगारदाता संस्थाले व्यहोर्ने सहमति भएको छ।
सम्झौतामा स्थानीय तहबाट सञ्चालन हुने सीपमूलक तालिम कार्यक्रमलाई समेत साझेदारी र सहकार्यमार्फत निरन्तरता दिने उल्लेख गरिएको छ। तालिम प्राप्त जनशक्तिको सीप, क्षमता र दक्षताको सदुपयोग गर्दै उनीहरूलाई रोजगारीमा जोड्ने, आत्मनिर्भर बनाउने तथा स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
सोसल डेभलपमेन्ट नेपाल (SDN) नेदरल्यान्ड्स को सहयोगमा सञ्चालन हुने यस कार्यक्रमले तालिम प्रदायक निकाय, रोजगारदाता संस्था र रोजगारीको खोजीमा रहेका जनशक्तिबीच समन्वय तथा सहकार्य बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके स्थानीय स्तरमा दक्ष जनशक्तिको उपयोग बढ्नुका साथै रोजगारदाता संस्थाले आवश्यकताअनुसार जनशक्ति प्राप्त गर्ने र युवाहरूलाई स्वरोजगार तथा आर्थिक आत्मनिर्भरताको दिशामा अघि बढ्न सहयोग पुग्ने विश्वास गरिएको छ।


