भीमफेदीका २२ वर्षीय सुजन स्याङ्तान चार दिनदेखि सम्पर्कविहीन, खोजीमा सहयोग गरिदिन परिवारको आग्रह
मकवानपुरको भीमफेदी गाउँपालिका–८ निवासी २२ वर्षीय सुजन स्याङ्तान यही जेठ १६ गतेदेखि सम्पर्कविहीन भएका छन्।
हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका अन्तर्गत ढुङ्गेचौर क्षेत्रमा डेरा गरी बस्दै आएका स्याङ्तान जेठ १६ गतेदेखि परिवारसँग सम्पर्कमा नरहेको उनका आफन्तले बताएका छन्। श्रीमती र पाँच वर्षीय छोरासँग बस्दै आएका सुजन, श्रीमती माइती गएको बेला छोरालाई कोठामै छाडेर बाहिर निस्किएका थिए। त्यसयता उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।
सुजनका दाइ राधेश्याम स्याङ्तानका अनुसार भाइको खोजी कार्य निरन्तर जारी छ। परिवारले उनको खोजीका लागि काठमाडौं र मकवानपुरका प्रहरी कार्यालयमा समेत जाहेरी दर्ता गरिसकेको जनाएको छ। विभिन्न माध्यमबाट खोजी भइरहेको भए पनि हालसम्म उनको अवस्था तथा उनी कहाँ छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवारले सुजन जहाँ भए पनि सकुशल रूपमा परिवारको सम्पर्कमा आउन आग्रह गरेको छ। साथै, उनको बारेमा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन सबैमा अनुरोध गरिएको छ।
सुजन लामो समयदेखि सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरू चिन्तित बनेका छन्। परिवारले उनको सकुशल फिर्तीको अपेक्षा गर्दै खोजी कार्यमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ।



