हेटौंडा उपमहानगर र यूएनओपीएस बीच ‘सिटिज फर वुमन’ परियोजना सम्झौता
हेटौंडा / हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) बीच “सिटिज फर वुमन : समावेशी र जलवायु प्रतिरोधी सहरीकरण” परियोजना सहयोग सम्झौतामा भएको छ । मंगलबार (आज) हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा नगरपालिकाको तर्फबाट मेयर मीना कुमारी लामा र यूएनओप्सको प्रतिनिधिबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार यूएनओपीएसले अधिकतम १ लाख ८४ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउनेछ भने हेटौंडा उपमहानगरपालिकाले त्यसको ३० देखि ५० प्रतिशतसम्म रकम लागत साझेदारीका रूपमा व्यहोर्ने बताइएको छ ।
‘सिटिज फर वुमन’ परियोजनाको उद्देश्य तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण देखिएका समस्या समाधान गर्नका लागि महिला, युवती र संवेदनशील समुदायहरूलाई लक्षित गर्दै सार्वजनिक खुला स्थानहरू समावेशी र वातावरणमैत्री ढङ्गले योजना, डिजाइन र निर्माण गर्न सहयोग गर्नु हो । हेटौंडालाई महिलामैत्री शहर बनाउने उदेश्यले यो परियोजना लागू गर्न लागिएको हेटौंडाकी मेयर लामाले बताइन् ।
यो परियोजना युरोपेली संघ र सुओमी फिनल्याण्डको सहयोगमा, यूएनओप्स, संयुक्त राष्ट्रसंघीय बासस्थान संस्था (यूएन–ह्याबिटाट) र सिटिज एलायन्सको साझेदारीमा चार वर्षको अवधिमा सञ्चालन हुँदैछ । सम्झौता हस्ताक्षर कार्यक्रममा मेयर लामाले यो परियोजनाले हेटौंडा उपमहानगरको सहरी विकास योजनालाई अझ समावेशी, दिगो र जलवायु प्रतिरोधी बनाउन सहयोग गर्ने बताए । उनका अनुसार परियोजनाले महिला र विपन्न समुदायलाई नगर योजना प्रक्रियामा सशक्त सहभागिता दिलाउने अवसर पनि प्रदान गर्नेछ ।

