कान्तिलोकपथमा बोलेरो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
हेटौंडा / मकवानपुरकाे बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडकखण्डमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी काेयालय हेटौंडाका अनुसार हिजो आइतबार दिउसो काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च २०६० नम्बरको बोलेरो गाडीले हेटौंडाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ७५ प ७६०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका–२३ मलहरी बस्ने १८ वर्षका सबरोज मिया मन्सुरीको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने मोटरसाइकलमा पछाडि सवार बारा, परवानिपुर गाउँपालिका–३ मुस्लिम टोलका १८ वर्षका प्रवेश आलमको छातीमा भित्री चोट र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
दुबै घाइतेको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पतालमा पठाईएकाे प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न बोलेरो गाडी, मोटरसाइकल र बोलेरो चालक रामेछाप, मन्थली नगरपालिका–१३ का ३३ वर्षका दिपेन्द्र गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

