क्युपेक मकवानपुरको आठौं जिल्ला अधिवेशन फागुन २ र ३ गते

हेटौंडा / नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल मकवानपुर शाखाको आठौं जिल्ला अधिवेशन फागुन २ र ३ गते हुने भएको छ ।
मकवानपुर क्युपेकका अध्यक्ष प्रल्हाद राईले अधिवेशनबारे जानकारी दिने उदेश्यले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै फागुन २ र ३ गते आठौं अधिवेशन गर्ने जानकारी गराएका हुन् । जिल्ला अधिवेशनको उद्धघाटन पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा गरिने छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रीको प्रमुख अतिथ्यता र क्यूपेक नेपालका केन्द्रीय अध्यक्षको विशेष आतिथ्यतामा अधिवेशन हुने बताइएको छ । अधिवेशनले आगामी ३ बर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को शसक्त घटक युनियनका रुपमा रहेको क्युपेकले आम अनौपचारिक निर्माण र पर्यावरण क्षेत्रका श्रमिकहरुका पक्षमा राज्यसँग निती निर्माणमा पहल गर्नुका साथै कार्य स्थलमा पर्ने समस्याहरुलाई सम्बोधन गर्ने काम गर्दै आइरहेको छ । जिल्लामा क्युपेकमा १ सय ७५ जना प्रतिनिधि र ३ हजार ५ सय साधारण सदस्यहरु आवद्ध छन् भने देशभर १ लाख ८७ हजार ७ सय १७ जना सदस्य आवद्ध छन् ।
