उदयपुरको बेलकामा ५ सय मत गन्दा २२० मत बदर, बदरमत पनि गणना गर्ने सहमति
उदयपुरको बेलका नगरपालिका वडा नं ९ वडाअध्यक्षको मतगणना सुरु गर्ने तयारी भएको छ । यसअघि बदरमत धेरै भएको भन्दै गणनामा बसेका माओवादीका प्रतिनिधिले निवेदन दिएका थिए । माओवादीको विरोधपछि आइतबार राति १ बजेबाटै गणना रोकिएको थियो । मतगणना आइतबार बेलुका १० बजेबाट सुरु भएको थियो ।
तर अहिले पुनः मतगणनाको तयारी भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए । बेलकाको पुनः मतगणना सुरु गर्ने विषयमा दिनभर छलफल भएको र सकेसम्म कम मत बदरहुने गरी अगाडी बढ्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
यसअघि बदर भनिएको मत पनि पुनः गणना गर्ने सूचनामा उल्लेख छ । यसअघि ५०० मत गन्दा २२० मत बदर भएको थियो । अब सुरु गर्दा २२० मत पनि गणना गरिनेछ । अहिलेसम्म एमालेका मोहन थापाले ८५ मतसहित अग्रता लिएका छन् ।
माओवादीका भरत घिमिरेले ८० र कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् । बेलका ९ को वडाध्यक्षमा ७ जना उम्मेदवार छन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका पदमबहादुर खड्का निर्वाचित भएका थिए । एमाले उम्मेदवार दोस्रो हुँदा माओवादी उम्मेदवार चौथो भएका थिए।