बागमती प्रदेशको कृषि विकास निर्देशनालयद्वारा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

पालिका डायरी
२४ श्रावण २०८१, ०५:५४

हेटौंडा /  बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न गरेको छ।

साउन २२ र २३ गते आयोजित दुई दिने गोष्ठीमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। मन्त्री श्रेष्ठले कृषि क्षेत्रमा बजेट बढाउन जोड दिने बताउँदै यसै आर्थिक वर्षदेखि कृषि ऋणमा ब्याज अनुदान दिन सुरु गर्ने घोषणा गर्नुभएको छ।

मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले कार्यालयको उपलब्धि सन्तोषजनक रहेको तर अझै सुधार गर्न सकिने बताए। उनले नयाँ मोडलबाट काम सञ्चालन गर्न लागिएको जानकारी दिए।

निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठको अध्यक्षतामा भएको गोष्ठीमा गत वर्षको प्रगतिबारे छलफल सँगै श्रेष्ठले, यस वर्ष थप प्रगति हासिल गर्न उपलब्ध स्रोत साधनको उचित प्रयोग गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा कृषि क्षेत्रको बजेट वृद्धि, सेवा प्रवाह सुधार, पारदर्शिता र सुशासनमा जोड दिनुपर्ने विषयमा छलफल भयो। रैथाने बालीको प्रवर्द्धन र नयाँ कार्यक्रम मोडेलहरूको कार्यान्वयनमा पनि जोड दिइएको थियो।

निर्देशनालय मातहतका १९ वटा कार्यालयहरूले आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। यस गोष्ठीले आगामी वर्षका लागि रणनीति तय गर्न मद्दत पुग्ने आयोजकले बताएका छन्।

प्रतिक्रिया