चोभारमा पहिरो खसेपछि बल्खु- हेटौँडा सडक अवरुद्ध
file photo
गएरातिदेखिको अविरल वर्षाको कारण पहिरो खसेपछि बल्खु-हेटौँडा सडक खण्ड अवरुद्ध भएको छ।
काठमाडौँको कीर्तिपुर नगरपालिका- ६ चोभारमा आज बिहान दुई ठाउँमा पहिरो खसेपछि काठमाडौँबाट हेटौँडा जोड्ने सडक खण्ड अवरुद्ध भएको हो।
प्रहरी परिसर कीर्तिपुरबाट इन्सपेक्टर हिक्मतबहादुर थापासहितको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ। ‘चोभारमा दुई ठाउँमा पहिरो खसेको थियो। एउटा हटाइसकियो, अर्को पहिरो हटाउने प्रयास भइरहेको छ,’ इन्सपेक्टर थापाले भने, ‘अबको केही बेरमै सवारी साधन सञ्चालनमा आउँछन्।’
पहिरो खसेपछि काठमाडौँबाट हेटौँडाका लागि छुटेका र हेटौँडाबाट काठमाडौँ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन् । पहिरोसँगै झरेको ढुंगाले लाग्दा एकजना स्कुटर चालक पनि सामान्य घाइते भएका इन्सपेक्टर थापाले बताए।
प्रतिक्रिया


