१४ घण्टाको प्रयासपछि समातियो चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ

आइतबार बिहान ‘मर्निङ वाक’मा निस्केका चितवनको भरतपुर महानगरपालिका- २ बेलटाँडीका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गर्यो ।
नारायणगढनजिकै रहेको नारायणी नदी किनारमै बाघको आक्रमणमा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई देख्ने मानिसहरुले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याए । बस्ती नजिकै बाघले आक्रमण गरेपछि स्थानीय त्रसित भए । सम्पूर्ण सरोकारवाला निकाय आइतबार दिनभर उक्त बाघ खोज्न तर्फ लागे ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित प्रहरी टोली, निकुञ्ज प्रशासनदेखि चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सकसम्म बाघ खोज्न फिल्डमा निस्किए । हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीले दिनभर बाघ खोज्यो ।
तीनवटा हात्ती लिएर बाघ खोज्न निस्किएको थियो टोली । तर, बाघको गर्जन सुनेर हात्ती नै डराए । जब हात्ती र मानिसहरुको चहलपहल थाहा पाएर बाघ गर्जियो, तब हात्ती नै डराएर फरक्कै फर्किएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारी बताउँछन् ।
‘हिमालगज’ र ‘सिमसारकली’ नामका यी दुई हात्ती बाघको गर्जनले डराए । बाघ गर्जिँदा तिनले बाघ भएतिर अघि बढ्ने हिम्मत नै गरेनन् । डराएर आत्तिएको हात्ती दौडिन थालेपछि हिमालगजका माउतेले हाम फालेर ज्यान जोगाएका थिए। शान्त स्वभावकी सिमसारकलीले आफूमाथि रहेका माउते र निकुञ्ज टोलीलाई सुरक्षित रुपमा राख्दै विस्तारै भागेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार बाघ समाउनका लागि निकुञ्जले प्रायः ‘हिमालगज’ र ‘सिमसारकली’ लाई प्रयोग गर्दै आएको छ । यी दुई हात्ती पहिलोपटक बाघको गर्जन सुनेर तर्सिएका हुन् ।
‘निकुञ्जमा रहेका ५४ वटा हात्तीमध्ये आवश्यकता हेरेर बाघ समाउनका लागि प्रयोग गर्ने गरिएको छ । भागेका दुवै हात्ती यसअघि धेरैवटा बाघ नियन्त्रणमा लिन प्रयोग गरिएको थियो,’ निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘तर, हिजो यी दुवै हात्ती बाघको गर्जनअघि टिक्न सकेनन् ।’
यद्यपि, निकुञ्ज टोलीका लागि बाघ गर्जिँदा हात्ती डराउने घटना भने नौलो होइन । यसैगरी अन्य हात्तीहरु पनि डराएर बाघको नजिक पुग्न नसकेका थुप्रै उदाहरण रहेका तिवारी बताउँछन् ।
‘बजार क्षेत्रमा भेटिएको उक्त बाघ हात्ती र मानिसहरुको हुल देखेर आक्रमक बनेको थियो,’ उनले भने, ‘भीड देखेर आफूलाई असुरक्षित महशुस गरेको उक्त बाघ अत्तालिएर गर्जियो । हात्तीको स्वभाव पनि मानिसको जस्तै हुन्छ । कुनै अली नडराउने हुन्छ भने कुनै हात्ती भने डराउने प्रकृतिका हुन्छन् ।’ यद्यपि भागेका दुवै हात्ती आइतबार राति नै भेटिएका उनले जानकारी दिए ।
यसरी समातियो बाघ
बजार नजिक जंगलमै डुल्ने उक्त बाघलाई १४ घण्टाको महेनतपछि मात्रै नियन्त्रणमा लिइएको थियो। आइतबार बिहानैबाट बाघ खोजी गर्न अनेक संयन्त्र लगाइए पनि सफल नभएपछि आइतबार राति ९ बजेतिर मात्रै बाघ नियन्त्रणमा लिइएको तिवारीले बताए ।
दुईवटा हात्ती भागेपछि सौराहाबाट थप दुईवटा हात्ती लगेर उक्त बाघ नियन्त्रणमा लिइएको हो । ‘नारायणी नदी किनारको नर्कटघारीमा लुकेर बसेको बाघ नियन्त्रणमा लिन वरिपरि सेतो कपडाले घेरियो,’ सूचना अधिकारी तिवारीले थपे, ‘बाघ र चितुवा नियन्त्रणमा लिन सेतो कपडाले घेर्नुपर्छ। यसो गर्दा घेरा नाघेर उम्कने खतरा कम हुन्छ। यसरी सेतो कपडाले घेर्दै प्राविधिकहरुले डार्ट गरेर बाघ नियन्त्रणमा लिन सफल भएका हुन्।’
नियन्त्रणमा लिएको बाघ दुई मिटर ७७ सेन्टिमिटर लामाे छ । उक्त्त भाले बाघ अन्दाजी ५ देखि ६ वर्षको छ । नियन्त्रणमा लिइएकाे बाघलाई चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहा राख्ने योजना छ ।