ढुंगाले लागेर फास्ट ट्रयाकको सुरुङमा एक मजदुरको मृत्यु, अर्का एक गम्भीर घाइते

तराई/मधेश फास्ट ट्रयाक (द्रुतमार्ग) सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चालिसे डाँडास्थित सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक मजदुरको मृत्यु भएको छ ।
घटनामा परी अर्का एक मजदुर गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाराको निजगढ नगरपालिका घर भई हाल सुरुङमार्गमा काम गर्ने अन्दाजी २७/२८ वर्षका बिमल थिङको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै तनहुँ जिल्ला घर भई सुरुङमार्गमा काम गर्ने अन्दाजी २७/२८ वर्षकै राजु बिक गम्भीर घाइते भएका छन् । उनको ढाड र कम्मरमा चोट लागेको र अबस्था गम्भिर रहेको मकवानपुर प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । उनको हेटौँडा–११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार दिउँसो साढे ३ बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा माथीबाट खसेको ढुंगाले उनीहरुलाई लागेको बताइएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।