हेटौंडामा लुमन्तीद्वारा नेतृत्व विकास तालिम सुरु

हेटौंडा / लुमन्तीको नेतृत्व विकास तालिम शुरु भएको छ। हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटार टोल विकासमा रहेको समूह र समुदायलाई लक्षित गरी तालिम दिइएको हो।
आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौं र हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको संयुक्त आयोजना तथा फ्रेशवाटर एक्सन नेटवर्क (FANSA) साउथ एसिया, खानेपानी सरसफाइ तथा उपभोक्ता महासंघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
दिगो विकास लक्ष्य ६ हासिल गर्न दक्षिण एसियामा नागरिक संजाललाई सबलीकरण गर्दै अधिकारका लागि अघि बढौं परियोजना अन्तर्गत समूह व्यवस्थापन तथा नेतृत्व सीप विकास तालिम दिइएको लुमन्तीका कार्यक्रम समन्वयक उद्धव भट्टराईले जानकारी दिए। राम डंगोलको सहजीकरणमा भइरहेको तालिममा सिमलटारका ४५ जना सहभागी छन्।
बुधवार ९ गतेसम्म चल्ने तालिममा हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामा, हेटौंडा ११ का वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, सुन्दर ढोका साथी सेवाका कैलाश गाउँपालिका कार्यक्रम समन्वयक राम पार्की लगायतको आतिथ्यता रहेको थियो। तालिम सिमलटार टोल विकास संस्थाका सदस्य छेगु गोलेको सभाध्यक्षतामा भइरहेको छ।