भारतमा भेटिन थाले त्रिशूलीमा बेपत्ता यात्रुका शव, हालसम्म १२ शव भेटिए
file photo
हेटाैंडा / गत शुक्रबार (असार २८ गते) नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको शव भारतमा फेला पर्न थालेको छ। पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुहरुको शव बगाएर भारत पुर्याएको पाइएको हो। यात्रुकोे शव भारतको वाल्मीकि नहरमा भेटिन थालेको चितवन प्रहरीले जनाएको छ।
नारायणी नदी हुँदै त्रिवेणीको गण्डक व्यारेज भएर भारतको वाल्मीकि नहरमा पुगेको अवस्थामा आइतवार चार वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार वाल्मीकि नहरमा आइतवार फेला परेका ४ वटा शवमध्ये सोमबार (आज) बिहानसम्म दुई वटा शवको पहिचान खुलेको छ।
ती शव भरतपुर महानगरपालिका–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विक र रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय फिरोज राहुप मियाको भएको पुष्टि भएको चितवन प्रहरीले जानकारी दिएको छ।
भरतपुर–२२ का सुदिप वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ख१५१६ नम्बरको बसमा सवार थिए भने रौतहटका मिया काठमाडौँबाट रुपन्देहीको गौर जाँदै गरेको प्रदेश०३–००१ख२४९५ नम्बरको बसमा सवार रहेको भनि आफन्तले बताएको डिएसपी रिजालले बताए। उनीहरुको शव पूर्वी नवलपरासीको विनयी त्रिवेणीबाट गएराति करिब २ बजेतिर चितवन ल्याइएको बताइएको छ।
वाल्मीकि नहरमा आइतबार फेला परेको दुई वटा शव आज झिकेर चितवन ल्याइने प्रहरीले जनाएको छ। यससँगै हालसम्म १२ वटा शव फेला परेको प्रहरीले जनाएको छ। डिएसपी रिजाललका अनुसार फेला परेका १२ शवमध्ये सात वटा शवको पहिचान खुलेको छ भने पाँच वटा शवको सनाखत हुन बाँकी छ।


