त्रिशूलीमा बगेका बसका थप २ यात्रुको शव फेला

पालिका डायरी
३० असार २०८१, १२:२०
त्रिशूलीमा बगेका बसका थप २ यात्रुको शव फेला, दुवै पुरुष file photo

गत शुक्रबार बिहान नारयणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता दुईवटा बसका यात्रुमध्ये थप दुई जनाको शव फेला परेको छ ।

खोजीका क्रममा आज (आइतबार) बिहान थप दुई जनाको शव घटनास्थलबाट निकै टाढा नारायणी नदीमा बालुवामा आधा गाडिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डीएसपी भेषराज अधिकारीका अनुसार एउटा शव नवलपुरको गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीमा र अर्को चितवनको भरतपुर महानगरपालिका २८ स्थित नारायणी नदीकै किनारमा फेला परेका हुन् ।

दुवै शव पुरुषको भएको उनले बताए । दुवै शव त्यही बसका यात्रुकै भएको अनुमान गरिएको डीएसपी रिजालको भनाइ छ । शवको सनाखत गर्न आफन्तहरूलाई बोलाइएको डीएसपी रिजालले बताए ।

यी दुईसहित हालसम्म ५ जना यात्रुको शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि शनिबार भेटिएका ३ शवको भने पहिचान भइसकेको छ । जसमा चितवनको माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको छन् ।

काठमाडौँबाट गौरतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस यही असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा त्रिशूलीमा बगेर बेपत्ता छन् ।

प्रतिक्रिया