पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ जना बेपत्ता

अविरल वर्षाका कारण खसेको पहिरोले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियार रहेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार गएराति सवा १० बजेतिर छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको थियो ।
यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् । यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन् । ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।