थाहानगरको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगती ८०.२७ प्रतिशत

पालिका डायरी
२५ असार २०८१, १३:१३

मकवानपुर / थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ८०.२७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । १४ औं नगरसभाबाट पारित विनियोजन ऐनमा पालिकाले यो प्रगती हासिल गरेको हो ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि चालुतर्फ ५२ करोड ५८ लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ४७ करोड ३ लाख ४२ हजार २ सय ९९ रुपैयाँ अर्थात ८९.४४ प्रतिशत खर्च भएको लेखा अधिकृत अमर बहादुर जिसीले जानकारी दिए । त्यसैगरी पुँजीगततर्फ ५१ करोड ११ लाख ८६ हजार ८ सय ३५ रुपैयाँ विनियोजन भएकोमा ३६ करोड २० लाख ७९ हजार ६ सय ६९ रुपैयाँ अर्थात ७०.८३ प्रतिशत वित्तीय प्रगती हासिल भएको लेखा अधिकृत जिसीको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि थाहा नगरपालिकाले १ अर्ब ३ करोड ७० लाख ६४ हजार ८ सय ३५ रुपैयाँ बजेट विनियोजन गरेकोमा ८३ करोड २४ लाख २१ हजार ९ सय ६८ रुपियाँ खर्च गरेको हो ।

यसैबीच थाहा नगरपालिकाले आम्दानीको आधारमा ९६.४२ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । थाहानगरले ८६ करोड ३३ लाख १४ हजार ३ सय ६३ रुपैयाँ यर्थात आम्दानी गरेको छ । सशर्ततर्फको पूर्ण रकम खर्च नभएकोले जम्मा आम्दानी बढि देखिएको लेखा अधिकृत जिसीले बताए । उनले भने–‘उक्त बढि भएको सशर्त बजेट संघीय र प्रदेश सञ्चित कोष खातामा फिर्ता हुने गर्दछ ।’

आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन भएको वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने सबैलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद दिएका छन् । उनले भने–‘नगर प्रमुखज्यू उपप्रमुखज्यू, वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, सम्पूर्ण जनप्रतिनिधिज्यूहरू र बजेट कार्यान्वयमा सहयोग गर्ने मेरा सहकर्मी साथीहरु साथै सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ।’

चालु आर्थिक वर्षमा भएको वित्तीय प्रगती अघिल्लो आर्थिक वर्ष २०७९/०८० को भन्दा ०.३२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैया बजेट विनियोजन भएकोमा ९४ करोड ६७ लाख ३८ करोड ८ सय ५६ अर्थात ८०.५९ प्रतिशत वित्तीय प्रगती हासिल भएको थियो । सो आर्थिक वर्षमा चालुतर्फ ९०.२८ र पुँजीगततर्फ ७०.९० प्रतिशत वित्तिय प्रगती हासिल भएको थाहा नगरपालिकाको तथ्याङ्क छ ।

प्रतिक्रिया