२५ सिटसम्मका बसमा विद्युतीयकै वर्चस्व
नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो र मिनी बसभन्दा विद्युतीय बस बढी भित्रिनथालेकाे छ । हाल नेपालमा २५ सिट क्षमतासम्मका बसमा विद्युतीय बसको हिस्सा बढेको छ ।
नेपालमा निजी गाडीसँगै सार्वजनिक यातायातको रुपमा प्रयोग हुने माइक्रो समेत विद्युतीय नै बढी आउनथालेकाे छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म १९६ वटा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो तथा मिनिबस भित्रिँदा ३३१ वटा विद्युतीय माइक्रो भित्रिएकाे छ।
चालू आर्थिक वर्षको ८ महिनामा १५ देखि २५ सिटसम्मका १६८ वटा भित्रिएका छन् । ११ देखि १४ सिट क्षमताका माइक्रोबस २८ वटा गरी जम्मा १९६ वटा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो र मिनी बस भित्रिएका छन् ।
त्यस्तै विद्युतीय माइक्रो ११ देखि २५ सिटसम्मका धेरै आउने गरेका छन् । ११ देखि १४ सिटसम्मका २८२ वटा विद्युतीय माइक्रो भित्रिएका छन् । १५ देखि २५ सिटसम्म ७७ वटा मिनिबस गरी जम्मा ३३१ वटा आएका छन् । २५ सिटमाथिका डिजेल बसको तुलनामा विद्युतीय बस भने कम छन् । ३७२ वटा ठूला बस भित्रिँदा विद्युतीय ११ वटा मात्रै नेपाल भित्रिएका छन् ।
गत आर्थिक वर्षको ८ महिनासम्म विद्युतीय बसको तुलनामा डिजेलबसको आयात बढी थियो । १४७ वटा २५ सिटसम्मका डिजेल बस आउँदा बिजुलीका १३७ वटा भित्रिएका थिए । २०७९ फागुनसम्म १५ सिटमाथिका मिनिबस भित्रिएका थिएनन् ।
सरकारले चालू आर्थिक वर्षमा ११ देखि १४ सिटसम्मका विद्युतीय माइक्रोमा १० प्रतिशत भन्सार महशुल लगाउने व्यवस्था गरेको छ। १५ सिटमाथिका विद्युतीय माइक्रोमा भने १ प्रतिशत भन्सार लाग्छ । जसकारण सार्वजनिक यातायातसँगै स्कुल, कलेजले विद्यार्थी ल्याउन र लैजान विद्युतीय गाडी खरिद गर्न लागेका छन् ।
चालू आर्थिक वर्षमा बढी आयात भई रेकर्ड राख्दा ६ हजार ४३५ आयात भएका छन् । सोही अवधिमा पेट्रोल इन्जिनका २ हजार ३५९ भित्रिएका छन् । डिजेल इन्जिनका ४१० वटा मात्रै आयात भएका छन् ।
सामान्यतया एकपटक चार्ज गरेपछि २५० किलोमिटरसम्म गुड्ने यस्ता विद्युतीय माइक्रो खरिद र सञ्चालन गर्नेको डिजेलको खर्च जोगिने र मर्मतसम्भारमा पनि कम खर्च हुने भएकाले आकर्षण बढेको छ । विद्युतीय माइक्रोबाट छोटो समयमै धेरै कमाउन सकिने हुँदा व्यापार समेत बढ्दो छ ।
सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको किङलङ र केवाईसी काठमाडौं उपत्यकासहित लामो दूरीमा समेत चल्नथालेका छन् । केवाईसीका ११ सिटे भ्यान काठमाडौं–कुलेखानी–हेटौंडा–सिमरा–पथलैया हुँदै वीरगन्जसम्म गुड्नथालेका छन् । यता काठमाडौंबाट चितवन हुँदै नवलपरासीसम्म र पूर्वमा काठमाडौंदेखि गाईघाटसम्म विद्युतीय माइक्रो चल्नथालेको व्यवसायी बताउँछन् ।